Wednesday, June 25, 2008

स्वागत गजल
---------

स्वागत गर्दै हजुर , गजल गुँड बनाउँदैछु ।
तिर्खा मेट्न ग-जल पिउंने डुँड बनाउंदैछु । १

कहाँ सक्नु हजुर म आफु ऐरावत नै बन्न ,
तै हजुरलाई स्वागत् गर्ने सुँड बनाउंदैछु । २

नगाँसिनु गाँसि'गयो साईनो यो गजलसंग,
गाढा राख्न सम्बन्धलाई अक्षुण बनाउंदैछु । ३

मलाई पुन गजलमा जन्मलिने ईच्छा हुँदा ,
सिला खोजेर गजलकै यो भ्रुण बनाउंदैछु । ४

गजल नारेर मनको खेत जोतुँजोतुँ लाग्दा ,
शब्द-शब्दले पोयो हाली हल्लुण बनाउंदैछु । ५

कैलेकाँही देख्छु आफ्नै मनमा घाउ लागेको छ ,
निकोपार्न गजल पिसेर चुर्ण बनाउंदैछु । ६

गजलको सानो एउटा झुप्रो हाल्ने ईच्छा थियो ,
बल्लतल्ल त्यही ईच्छा आज पुर्ण बनाउंदैछु । ७

वरिपरी देखिएसम्म बिसंगतीहरुलाई ,
धित मरुञ्जेल ठुँग्न तिखो ठुँड बनाउंदैछु । ८

सर्प बनि चारैतिर विष ओकल्दै हिंड्नेलाई ,
स्वाट्टै निलेर पचाउने गरुड बनाउंदैछु । ९

खस्रो मसिनो हुनजाला बोली मेरो माफी माग्दै ,
सकेसम्मै लेखाईलाई करुण बनाउंदैछु । १०

अब जिम्मा हजुरलाई जोखी तौली भनिदिने ,
के म आफ्नो गजललाई तरुण बनाउंदैछु ? ११

हुनसक्छ गुँडभित्र तर्साउने अँध्यारो पनि ,
'दीपक' बालेर भित्र पस्ने 'मुड' बनाउंदैछु । १२
***********************
***********************
अगाडी थप्दै जान बाँकी छ । गुँड बनाउन झ्यास्/पराल् छेस्का छेस्की लगभग भेला पारीसकेको छु । प्रतिक्षा गर्नुहोला । धन्यवाद !